Logo
Logo

एमाले पदाधिकारीमा ओली र पोखरेल समूहबाट क-कसको सम्भावना ?


4.8k
Shares

काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशन अन्तर्गत आज (आइतबार)देखि बन्दसत्र सुरू हुँदैछ । बन्द सत्र दिउँसो १२ बजेपछि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुनेछ ।

एमालेको आगामी केन्द्रीय कमिटी १५ पदाधिकारीसहित २५१ सदस्यीय हुनेछ । आगामी नेतृत्वका लागि एमालेमा हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । शनिबार उद्घाटन समारोह सकिएलगत्तै दुवै पक्ष टिम बनाउन कसरतमा छन् ।

पदाधिकारीमा दुवैले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्ने देखिएको छ । ओली पक्षबाट पदाधिकारीमा पुरानै अनुहार दोहोरिने सम्भावना छ । स्रोतका अनुसार उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल नै दोहोरिने सम्भावना बढेको छ ।

महासचिव शंकर पोखरेल नै दोहोरिने सम्भावना बढेको छ । तर उपमहासचिव प्रदीप ज्ञवालीले पनि महासचिवमा दाबी छाडेका छैनन् । पृथ्वीसुब्बा गुरूङले पनि निकट नेताहरूसँग कुनै हालतमा महासचिव नछाड्ने बताइरहेका छन ।

तथापि ओलीले तीन उपमहासचिवमा पृथ्वीसुब्बा गुरूङ, प्रदीप ज्ञवाली, विष्णु रिमाललाई नै दोहोर्याउने सम्भावना छ । सचिवमा पद्मा अर्याल, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्ट नै दोहोरिने सम्भावना छ ।

बाँकी तीन सचिव पदमा भानुभक्त ढकाल, शेरधन राई, ज्वाला साह, सुमन प्याकुरेल, महेश बस्नेत, राजन भट्टराई, खगराज अधिकारी, जगत विश्वकर्मा, यमलाल कँडेल, गोरख बोगटीको बलियो दाबी छ ।

अन्तिममा ढकाल, बस्नेत तथा कँडेल र बोगटीमध्ये एक छानिन सक्ने सम्भावना बलियो बन्दै गएको ओलीनिकट नेताहरूले बताएका छन् ।

यता ईश्वर पोखरेल समूह पनि टिम टुंगो लगाउन छलफलमा जुटेको छ । ओली समूहमा आकांक्षी बढेका र पदाधिकारीको आकार नबढेकाले असन्तुष्टहरू तान्ने कसरतमा पनि उनीहरू छन् ।

आजभोलि नै ओली पक्षका केही नेता खुल्ने प्रबल सम्भावना छ । पोखरेल समूहमा अहिलेसम्म योगेश भट्टराईको टुंगो लागेको छ । स्रोतका अनुसार उनी उपमहासचिव उठ्ने पक्कापक्की भएको हो ।

उपाध्यक्ष सुरेन्द्र पाण्डे र गोकर्ण विष्टमध्ये एक जना महासचिव उठ्नेछन् । अर्का उपाध्यक्षमा सेट हुनेछन् । सचिवमा गोकुल बाँस्कोटा, ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल, विन्दा पाण्डे लगायत आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्