रुपन्देही । बाँके निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद खगेन्द्र सुनारका विवादित अभिव्यक्ति र सो क्षेत्रप्रति गरिएको बेवास्ताले स्थानीय नेता-कार्यकर्ता चरम असन्तुष्ट बन्न थालेका छन् । पार्टीले अघि सारेको ‘राइट टु रिकल’ का आधारमा उनलाई फिर्ता बोलाउन रास्वपा नेतृत्वलाई लिखित पत्र पठाइएको छ ।

सुनार निरन्तर नेपाल प्रहरीको नेतृत्वमाथि खनिँदै गर्दा असन्तुष्टि चुलिएको हो । साथै, निर्वाचित भएर गएपछि बाँके ३ मा फर्केर नआएको, बजेट र स्थानीयका समस्या सम्बोधनमा चासो नदिएको, पार्टीका अन्य गतिविधिमा अनुपस्थित रहने गरेको आरोप पनि लागेको छ ।
संसदीय दलका नेता (प्रधानमन्त्री वालेन्द्र शाह) लाई सम्बोधन गरेर बुझाइएको पत्रमा बारम्बार विवादित अभिव्यक्ति दिने र विवाद बढाउने काम गरिरहेकाले सांसद सुनारसँग मिलेर काम गर्न सकिने वातावरण नै नभएको उल्लेख छ । सुनारलाई तत्काल कारबाहीको प्रकृया अघि बढाउन माग गरिएको छ ।













