
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा अशक्त, बिरामी र अपाङ्गता भएका प्रतिनिधिले लाइन बस्नु नपर्ने भएको छ ।
भृकुटीमण्डपस्थित बन्दसत्र हलमा बुधबार बिहान सवा ९ बजेदेखि मतदान जारी छ । मतदानका लागि प्रतिनिधिहरू बिहान ७ बजेदेखि नै लाइनमा बसेका थिए । तर, अध्यक्ष केपी शर्मा ओली आइपुग्न ढिलाइ भएपछि मतदान शुरू हुन समय लागेको थियो ।
मतदानका लागि ८० वटा भोटिङ मेसिन राखिएको छ । मतदान सम्पन्न हुन कम्तीमा ६ देखि ८ घण्टा लाग्ने बताइएको छ ।मतदानलगत्तै मतगणना शुरू हुनेछ । मतगणना भने २ घण्टाभित्र सकिने अनुमान छ । आगामी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।











