काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत जारी निर्वाचनमा मतदानको गति सुस्त देखिएको छ ।

मतदान सुरु भएको करिब सात घण्टा दिउँसो साढे चार बजेसम्म जम्मा ७२० मत मात्रै खसेको छ । बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो । सात घण्टामा ७ सय २० मत खसेको हो ।
अझै एक हजार ५ सय ४३ जनाले मतदात गर्न बाँकी छ । निर्वाचनमा नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ जना मतदाता सहभागी छन् ।
मतदानको गति सुस्त भएपछि मतदानको समय तीन घण्टा थपिएको छ। साँझ ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने व्यवस्था भएकोमा तीन घण्टा थप गरी बेलुका ८ बजेसम्म बनाइएको छ ।
भित्र मतदान प्रक्रिया जारी रहँदा बाहिर भने नयाँ नेतृत्वका आकांक्षी नेताहरू र कार्यकर्ताहरू आ–आफ्नो पक्षमा मत माग्दै प्रचार–प्रसारमा व्यस्त छन् ।











