काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनका क्रममा बुधबार बिहानदेखि जारी मतदानको क्रममा एक मतदाता नाम खोज्दाखोज्दै बेहोस भएका छन् ।

महाधिवेशनमा प्रत्येक मतदाताले ३०१ सदस्यका लागि मतदान गर्नुपर्छ । केही मतदाताले आफूले छान्नुपर्ने उम्मेदवारलाई चिन्न नसक्दा असिनपसिन भएका छन् । केही मतदाता बेहोस पनि भएका छन् ।
एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार बेहोस हुने ती मतदाताले मतदानमा करिब २ घन्टा ५ मिनेट समय खर्च गरेका थिए । सबैभन्दा छिटो भने एक मतदाताले मात्र ९ मिनेटमा मतदान पूरा गरेका छन् ।
एमालेका कुल २,२६३ प्रतिनिधिले मतदान गर्ने भएकाले सबैको मतदान पूरा हुन करिब २२ घण्टा लाग्ने अनुमान छ । काठमाडौँको भृकुटीमण्डपमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ।
एमालेको १९ पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्।
मतदानका लागि मतदाताले साँझ ८ बजेसम्म मतदान स्थलमा प्रवेश गर्नुपर्ने एमाले केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ। सामान्यतया, एउटा मतदाताले मतदान गर्न करिब ३०–३५ मिनेट समय लाग्ने गरेको छ ।











