काठमाडौँ । सरकारले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई वैदेशिक रोजगारीमा नि:शुल्क पठाउने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वदेशमा काम गर्न चाहनेका लागि सिपमूलक तालिम पनि प्रदान गर्ने तयारी गरेको छ । तालिम लिएपछि चाहने व्यक्तिहरूलाई आन्तरिक रोजगारीमा जोड्ने वा वैदेशिक रोजगारीमा पठाउने योजना बनाइएको छ।
नवनियुक्त श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीको निर्देशनअनुसार मन्त्रालयले जेनजी रोजगार सहजीकरण संयन्त्र निर्माण गरी परिवारलाई मर्यादित र सुरक्षित रोजगारी अवसर उपलब्ध गराउने तयारी गरेको छ। वैदेशिक रोजगारीमा पठाउन वैदेशिक रोजगार व्यवसायी संघसँग समन्वय गर्ने व्यवस्था पनि तय भएको छ।
जेनजी आन्दोलनमा करिब २ हजार ५०० जना घाइते भएका छन् भने ७६ जनाको मृत्यु भएको थियो । सरकारले आन्दोलनलाई जनआन्दोलन मान्यता दिएको छ र १० बुँदे सहमति अनुसार घाइते तथा शहीद परिवारको तत्कालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।











