
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका उम्मेदवार नै मतदानमा सहभागी नभएको तथ्य सार्वजनिक भएको छ । प्रेस चौतारीका पूर्वअध्यक्ष गुल्मीका राजेन्द्र अर्यालले मतदान नै नगरेको केन्द्रीय निर्वाचन आयोगको विवरणमा भेटिएको हो ।
अर्यालले ‘नो भोट’को अधिकार उपयोग गरेको बताएका छन् । तर उनी आफैँ केन्द्रीय सदस्यका उम्मेदवार हुन् । ओली पक्षका उनी स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा थिए । अर्यालले ओली पक्षको सूचीमा नपरेपछि मतदानमै सहभागी नभई घर गएर सुतेको बताएका छन् ।
यता, महाधिवेशन प्रतिनिधि घनश्याम कोइरालाले पनि सामाजिक सञ्जालमार्फत मतदान गर्न नपाएको स्वीकार गरेका छन् ।
उनले लेखेका छन्, ‘केही साथीहरूलाई समय सङ्केत गर्न अनुरोध गरेर राति घर गएको थिएँ । बिहान पुग्दा ढिलो भयो । मतदान सकियो भन्ने सूचना पाएपछि बाटोबाटै घर फर्किएँ । गल्ती भएकै हो । आत्मालोचित छु ।’
नयाँ नेतृत्व चयनका लागि देशभरबाट २ हजार २६३ प्रतिनिधि चयन भएका थिए । तर, ३६ जना भने विभिन्न कारणले मतदानमा अनुपस्थित रहेका हुन् । उम्मेदवार र प्रतिनिधि दुवैको अनुपस्थितिले महाधिवेशनको मतदान प्रक्रियामा अनुशासन र समन्वयमाथि प्रश्न उठाएको छ । यस महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।











