Logo
Logo
टिप्पणी

तानाशाहको कब्जामा एमाले


0
Shares

काठमाडौं । तानाशाह यति कायर हुन्छन् कि उनीहरू सबैभन्दा बढी आफ्नैसँग भयभित हुन्छन् । उनीहरूलाई सत्तामा आउन तागतको सहारा मात्र आवश्यक पर्छ । तानाशाहहरू आफूलाई सँधै असुरक्षित ठान्ने भएकाले सत्तामा सधै टिकिरहने खोज्छन् । तानाशाह प्रोपोगान्डामा माहिर हुन्छन् । सर्वव्यापी देखिन खोज्छन् । सबै जाने जसरी र सबै साना ठूला काम गरेको जसरी प्रस्तुत हुन्छन् । उनीहरूको विरोधमा कोही उभिए तत्काल दबाइहाल्छन् र राजनीतिक रुपमै सिध्याइदिन्छन् । हिटलर, मुसोलिनीजस्ता विश्वका कतिपय तानाशाहका बारे अध्ययन गरिएका कृतिहरुमा यी विषय उल्लेख छन् ।

इटलीका तानाशाह मुसोलिनी साबुनमा समेत आफ्नो तस्बिर राख्न लगाउँथे ताकि मानिसहरुमा उनको याद सदैव रहिरहोस् । काम गर्ने कोठामा रातभर वत्ती बाल्न लगाउँथे ताकि जनतालाई लागोस् उनीहरुका नेता रातभर काम गर्छन् । आफूलाई देवत्वकरण गर्न लगाउँथे । देवत्वकरण त तानाशाहहरुको शैली नै हो । उनीहरु सत्तामा रहँदा भगवान नै जसरी किस्सा र कहानीहरु बनाइन्छ ।

नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा एमालेमा तेस्रोपटक अध्यक्ष निर्वाचित भएका खड्ग प्रसाद शर्मा ओलीको शैली विश्वका कतिपय तानाशाहको स्वभावसँग मिल्दोजुल्दो छ । उनी मतबाट निर्वाचित भएका छन् तर पार्टीको पद्धति, विधान र विधि आफू निर्वाचित हुनकै लागि मात्र बनाएका छन् । विरोधीलाई दबाउने देखि राजनीतिक रुपमा सिध्याउने समेत गरेका छन् । एमाले तानाशाह बनेका ओलीको हातमा फेरि पुगेको छ । यसको परिणाम भविष्यमा देखिने नै छ ।

ओली कतिसम्म कायर छन् भन्ने जेनजी विद्रोहपछि उनको भूमिकाबाट देखियो । सेनाले उनको जीवनरक्षा गरिदियो । लुकेर बसेका ओलीले ठट्यौली शैलीमा लुके जस्तो गरेको भनेर गुदी कुरा लुकाए । सुशीला कार्कीलाई असंवैधानिक तरिकाले सत्ता सुम्पिए । उनी कतिसम्म कायर रहेछन् भन्ने उनमा आफ्नै दलका उदीयमान नेताहरूसँग डराए । विगतमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने माधव नेपाललाई पार्टी छाड्न वाध्य बनाए । अर्को प्रतिस्पर्धी भीम रावललाई पार्टीबाट नै निष्काशन गरे । यसपटक ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका ईश्वर पोखरेललाई के गर्छन् ? हेर्न बाँकी नै छ । ओलीमा यतिसम्म भय छ कि उनी नेतृत्व विकास गर्न नै चाहँदैनन् । सँधै सत्ता र शक्तिमा रहिरहन खोज्छन् ।

प्रोपोगान्डामा ओली माहिर छन् । उनले बोलेर ठोरीलाई अयोध्या बनाइदिए । महाकाली सन्धी बिर्साउन चुच्चे नक्शा बनाएर राष्ट्रवादी देखिए । नागरिक लगानी कोषको एउटा कर्यक्रममा उनले आफ्ना तस्बिरहरू शहरका भित्ताभरी टाँस्न लगाएको इतिहास साक्षी छ । पार्टीका हरेक ठूला कार्यक्रमहरूमा आफ्नो तस्बिरहरू विजुलीका पोलमा टाँस्न लगाए । आफ्ना मानिसहरूलाई आफू रातदिन नथाकी काम गर्न सक्छु भन्ने हल्ला मच्चाए । आफ्नो देवत्वकरणमा ओली लागिरहे ।

एमालेमा सबै किसिमका हतकण्डा अपनाएर ओलीले नेतृत्व कायमै राखेका छन् । उनले उमेरहद हटाउने, पदाधिकारी बढाउनेदेखि विरोधीलाई लखेट्नेसम्म गरे । ओली राजनीतिक जीवनमै सबैभन्दा अलोकप्रीय हुँदा पार्टी कब्जा गर्न सफल भए । यसबाट अब एमाले राजनीतिक दलभन्दा संगठित गिरोहमा परिणत भएको छ । जसमा तानाशाहको शैलीमा एकजनाले गिरोहका सदस्यहरूलाई परिचालन गर्छ । उसले जे भन्छ त्यही हुन्छ र गिरोहका सदस्यहरू पनि उसले जे अराउँछ खटाउँछ त्यही गर्छन् । उनीहरूलाई जनतामा आफ्ना नेतृत्वकर्ताप्रतिको धारणा के छ ? संसारले कुन रुपमा हेरेको छ ? भन्ने वास्ता हुँदैन । मात्र आफ्नो नेतृत्वलाई देवत्वकरण गरेर कार्य गर्दछन् ।

ओलीले देशमा जेनजी विद्रोह हुने वातावरण तयार गर्न भूमिका खेलेकै हुन् । उनको प्रधानमन्त्री कालमा नीतिगत भ्रष्टाचारले किर्तिमान तोडेको थियो । कर छली प्रकरण, जग्गा प्रकरणदेखि काण्डै काण्डहरू भए । होली वाइन प्रकरणमा ओली मुछिएका थिए ।

ओलीले एमाले अध्यक्षका रुपमा केही वर्षअघि नेपालमा अवैध रुपमा भित्रिएका रोहिंग्यालाई आफ्नै हातले पार्टी प्रवेश गराएका थिए । त्यसमा भूमिका खेल्ने पात्रलाई मुस्लिम आयोगको अध्यक्षबाट पुरस्कृत गरे । मधेश प्रदेशमा सरोज यादवलाई नाटकीय ढंगबाट केही दिन मुख्यमन्त्री बनाएर मदरसा विधेयक बढाउन लगाए । देशको सुरक्षासँग जोडिएको विषयमा खेलवाड गरे । जुन सेनाले उनलाई जोगायो त्यही सेनाको विरोधमा उत्रिए । देशको सुरक्षाको मुख्य ढाल सेनालाई बदनाम गर्न योजनावद्ध तरिकाले लागेकाहरुलाई गुण्डुमा बोलाएर भलाकुसारी गरे ।

एमालेमा ओलीको जिकत कुनै आश्चर्य थिएन । तर, ओलीले जितपछि फेरि अहंकार प्रदर्शन गरेका छन् । सत्तामा फेरि पुग्ने लालसा देखाएका छन् । जेनजी विद्रोहताका मौका पर्दा अवसर खोज्न निस्किइहाल्ने तर विपतमा दुलोभित्र लुक्ने संगठनको नाइकेमा ओली रुपान्तरण भइसकेको प्रमाणित भयो । तैपनि, ओली खोक्रो शक्तिको प्रोपोगान्डा मच्चाइरहेछन् । एमालेका तानाशाही बनेका छन् । उनको तानाशाहीले उनको पतन निश्चित छ । योसँगै एमाले पनि पतनको बाटोमा द्रुत गतिमा बढ्दैछ । ओलीको तानाशाहलाई सदर गरेसँगै एमाले अर्को राजनीतिक दुर्घटनामा पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्