काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेल पक्षको शनिवार काठमाडौंमा बसेको भेलाले ११औँ महाधिवेशनमा उठाइएका वैचारिक मुद्दाहरूलाई निरन्तर अगाडि बढाउने निर्णय गरेको छ ।

एमाले उपमहासचिव योगेश भट्टराईका अनुसार भेलाले पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद (जबज) को आधारमा पार्टी निर्माण र आन्तरिक लोकतान्त्रिकरणजस्ता मुद्दालाई पार्टीको विधि९विधानभित्र रहेर उठाइरहने निष्कर्ष निकालेको छ ।
भेलामा महाधिवेशनको मतपरिणामबाट विचलित नहुन आग्रह गर्दै पार्टीको एकता र सुदृढीकरणमा रचनात्मक भूमिका खेल्ने अठोट व्यक्त गरिएको छ । साथै, प्रतिनिधि छनोटदेखि बन्दसत्रसम्मका क्रियाकलापले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको र संरचनाको दुरुपयोग भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
भट्टराईले लोकतान्त्रिक प्रतिस्पर्धा स्वस्थ र मर्यादित नभएको उल्लेख गर्दै पार्टीभित्र गुटबन्दी, पक्षपात वा काखापाखा गर्ने कुनै पनि प्रस्ताव आएमा संगठनभित्रै कडा प्रतिवाद गर्ने निर्णय भएको जानकारी दिए ।











