
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई प्रतिभाश्री अवार्ड प्रदान गरिएको छ । भारतको लखनउमा भएको एक विशेष समारोहमा त्यहाँका सांसद र विशिष्ठ व्यक्तित्वहरूको उपस्थितिमा डा. उपाध्यायलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
डा. उपाध्यायले गीत र साहित्यमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि अवार्ड प्रदान गरिएको थियो ।
यस्तै, डा. उपाध्यायलाई हालै युरोपको आइआइइचएसआर विश्वविद्यालयले विद्यावारिधी प्रदान गरेको छ । डा. उपाध्यालाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो । विश्व विद्यालयका प्रतिनिधि जेम्स केरी र अन्य प्रतिष्ठित अतिथिहरूले डा. उपाध्यायलाई उक्त मानार्थ विद्यावारिधी प्रदान गरेका थिए ।
समाजशास्त्रमा सन् २००० मा विद्यावारिधी गरेका डा. उपाध्यायलाई यसअघि विभिन्न आठ विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेका छन् । यो उनको नवौं मानार्थ विद्यावारिधी हो । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि आठ वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।
डा. उपाध्यायले गीत र साहित्यमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो । डा. उपाध्यायले गीत सङ्गीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् ।
उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । उनको पछिल्लो उपन्यास ‘आशक्ति’ रहेको छ ।












