
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि दुर्व्यवहार भएको छ । आइतबार बिहान ५, ६ जनाको समूहले बेलझुण्डीस्थित उपकुलपतिको क्वाटरमै पुगेर मोसो दल्नुका साथै दुव्र्यवहार गरेका हुन् ।
दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले उपकुलपति नेपालमाथि दुव्र्यवहार गर्ने व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए ।
नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी)का लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले विज्ञप्ति जारी गरेर उपकुलपति नेपालमाथि विभिन्न ८ बुँदे आरोप लगाउँदै घटनाको जिम्मा लिएका छन् ।
बुँदा नम्बर १ मा विश्वविद्यालयबाट भ्रष्टाचारका अभियोग लागेका रजिष्टार माधव अधिकारीबाट उपकुलपति नेपालले मोटो रकम असुल गरी पुनः रजिष्टारमा सिफारिस गरेको उल्लेख छ ।
उपकुलपति नेपालमाथि यसअघि पनि कर्मचारीदेखि प्राध्यापक भर्ती तथा भवन निर्माणमा अनियमितता गरेको अभियोग लागेको थियो ।












