Logo
Logo

क्रियाशील सदस्यता विवाद देखाउँदै महाधिवेशन सार्ने ‘मुडमा’ देउवा


1.4k
Shares

काठमाडौं । गत मङ्सिर ५ मा बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुसमा गर्ने निर्णय गरेको थियो । सानेपामा बसेको केन्द्रीय समिति बैठकले पुस २६, २७ र २८ गते १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको गरेको थियो । तर, कांग्रेसको संस्थापन समूह तोकिएको मितिमा महाधिवेशन गर्ने नसकिने निष्कर्षमा पुगेको छ । 

The current image has no alternative text. The file name is: deuwa-3.gif

नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले आफ्नो काम पूरा गर्न नसक्दा घोषित मितिमा महाधिवेशन हुन नसक्ने अवस्था आएको जनाएको छ ।

सभापति देउवाले शनिवार कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा तथा आइतबार बिहान कार्यवाहक सभापति खड्काले बोलाएको महामन्त्रीद्वय तथा नेता रमेश लेखक र पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलसहितको बैठकमा तोकिएको मितिमा महाधिवेशन गर्न नसकिने बताएका हुन् ।

देउवाले शनीवार आफ्नै निवास महाराजगञ्जमा महाधिवेशनका विषयमा छलफल गरेका थिए । छलफलका क्रममा देउवाले पदाधिकारीले पर्याप्त तयारी गर्न नसकेको बताएका थिए ।

देउवाले कार्यवाहक सभापति खड्का तथा महामन्त्रीद्वय थापा र शर्माको ब्रिफिङमा चित्त बुझाएनन् । महामन्त्री थापाले क्रियाशील सदस्यताका बारेमा भइरहेका कामबारे ब्रिफिङ गरेका थिए ।

देउवाले कार्यवाहक सभापति खड्कालाई महाधिवेशनको तयारी र क्रियाशील सदस्यता विवादबारे सम्बन्धित पक्षसँग छलफल गरेर समस्या समाधानको पहल गर्न निर्देशन दिएका थिए । देउवाको निर्देशन बमोजिम खड्काले आइतबार बिहान बैठक बोलाएका थिए ।

बैठकमा निवर्तमान गृहमन्त्री लेखक र पार्टी कार्यालयका मुख्यसचिव पौडेललाई पनि बोलाइएको थियो । बैठकमा महामन्त्री थापाले क्रियाशील सदस्यताबारे धारणा राखेका थिए । थापाले धारणा राखेपछि लेखकले क्रियाशील सदस्यता विवाद टुङ्गोमा लाग्न नसकेकाले घोषित मितिमा महाधिवेशन हुने सम्भावना टरेको भन्न मिल्ने अवस्था आइसकेको बताएका थिए ।

क्रियाशील सदस्यको अन्तिम नामावली तयार नभएसम्म महाधिवेशनको परिकल्पना नै गर्न नसकिने संस्थापन पक्षको भनाइ रहेको छ । 

बैठकमा महाधिवेशनका लागि आवश्यक विधान मस्यौदा समिति, दस्ताबेज तयारी समिति, प्रचारप्रसार समिति गठन हुन नसकेकोबारे पनि कुरा उठेको थियो । 

कांग्रेसमा पुसमा महाधिवेशन गर्ने निर्णय महामन्त्रीद्वय थापा र शर्माका कारण गरिएको थियो । संस्थापन पक्ष फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने पक्षमा थियो ।

महामन्त्रीहरूले आफ्नो जिम्मेवारी पुरा नगर्दा उनीहरूकै माग बमोजिम पुस मसान्तमै गर्ने भनिएको कांग्रेसको महाधिवेशन नहुने अवस्था देखिएको संस्थापन पक्षका नेताहरू बताउँदै आएका छन् । 

देउवाले बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि बोलाएका थिए । तर, उनीहरू बैठकमा सहभागी नै भएनन् ।

प्रतिक्रिया दिनुहोस्