
काठमाडौं । नेपाली सेनाले भदौ २४ गतेको अराजक अवस्थामा विशिष्ट व्यक्ति, कूटनीतिज्ञ र सर्वसाधारणको जीवन रक्षालाई पहिलो प्राथमिकता दिएको जनाएको छ ।
जंगीअड्डाबाट जारी लेखमा सेनाले जीवन रक्षा कुनै व्यक्ति विशेषको संरक्षण नभई राज्यको आधारभूत कर्तव्य भएको बताएको छ । अवस्था थप व्यापक र अराजक बन्दा जीवन जोगाउने प्राथमिकतासहित संयमित रूपमा उपस्थित भएको र भौतिक पूर्वाधारभन्दा मानवीय जीवन महत्वपूर्ण रहेको स्पष्ट पारेको हो ।
यदि भौतिक संरचना जोगाउन मानवीय क्षतिको मूल्य चुकाएको भए ‘सेनाले सिंहदरबार जोगाउन जनतालाई गोली हान्यो’ भन्ने प्रश्न उठ्ने निश्चित रहेको उल्लेख गर्दै सेनाले संयम अपनाएर थप द्वन्द्व र अस्थिरता रोकेको दाबी गरेको छ ।
सर्वसाधारणले पनि कठिन घडीमा सेनाबाट तत्काल उद्धार र सहयोग पाएको अनुभव सार्वजनिक गरेको र भूकम्पजस्ता विपद्मा मानिस खुला ठाउँमा निस्कने तुलना गर्दै जीवन रक्षालाई प्राथमिकता दिनु स्वाभाविक भएको सेनाको तर्क छ ।












