काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगानासहित रविकिरण हमाल, निकोलस भुसाललगायत युवाहरू प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीहरूले वर्तमान राजनीतिक अवस्थाको विकल्पका रूपमा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग अघि सारेका थिए । प्रदर्शनका क्रममा केही सहभागीलाई प्रहरीले केही समय नियन्त्रणमा पनि लिएको थियो ।
यसअघि ढुंगानासहितका युवाहरूले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग अनुमति मागेका थिए । तर प्रशासनले अनुमति नदिएपछि अनुमति विना प्रदर्शन सुरु गरिएको र त्यसपछि प्रहरीले हस्तक्षेप गरेको बताइएको छ ।
प्रदर्शनमा सहभागी आक्रोशित समूहले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग पनि गरेका छन् । प्रदर्शन हाल पनि जारी रहेको र प्रदर्शनकारीहरू माइतीघर क्षेत्रमा भेला भइरहेका छन् ।












