Logo
Logo

एनिमेसन चलचित्र प्रदर्शनीपछि सांस्कृतिक आदानप्रदान शुभारम्भ


63
Shares

काठमाडौं । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा गत साता सम्पन्न चिनियाँ चलचित्र प्रदर्शनीले दुई मुलकबीच सांस्कृतिक आदानप्रदानको विजारोपण गरेको छ ।

गत बुधबारदेखि शुक्रबारसम्म भएको पहिलो हिमालयन रिम चलचित्र प्रदर्शनीको सफलतापूर्वक आयोजनाले उत्साहजनक प्रतिक्रिया पाएको छ ।

यसबाट दुई मुलुकबीच सांस्कृतिक आदानप्रदानका बिजारोपण भएको अर्थ लगाइएको छ । काठमाडौं विश्वविद्यालयको कार्यक्रममा उच्च प्रविधिद्वारा सशक्त चिनियाँ एनिमेसन संस्कृतिलाई नेपाली शिक्षक तथा विद्यार्थीहरूसामु बहुआयामिक दृष्टिकोणबाट प्रस्तुत गरिएको थियो ।

बुधबार औपचारिक रूपमा उद्घाटन गरिएको कार्यक्रमको प्रारम्भमा एआई प्रविधिमा आधारित प्रवद्र्धनात्मक छोटो भिडियो देखाइयो । त्यसपछिको द स्पिरिट अफ द माउन्टेन्स को विशेष प्रदर्शनले शिक्षक तथा विद्यार्थीहरूलाई प्रविधि र संस्कृतिको संगममा चिनियाँ एनिमेसनले गरेका नवीनतम प्रयोगहरू अनुभव गर्ने अवसर दिलाएको थियो ।

दिउँसो ह्वाइट स्नेक को प्रदर्शन, सिर्जनात्मक टोलीसँगको अनलाइन संवाद र ब्लाइन्ड–बक्स अन्तरक्रिया क्रमशः गरिएको थियो । “पूर्वजन्मको नियति” भन्ने विषयवस्तुमा केन्द्रित उक्त चलचित्रले लेजन्ड अफ द ह्वाइट स्नेकको शास्त्रीय कथालाई नवीन र समकालीन ढंगले पुनव्र्याख्या गरेको पाइयो । दर्शकहरूले चलचित्र हेर्ने क्रममा पूर्णरूपमा तल्लीन हुँदै आधुनिक सन्दर्भमा चिनियाँ मिथकको नयाँ अभिव्यक्ति अनुभूत गरेको जनाए ।

भोलिपल्ट आयोजित “फिङ्गरटिप क्रियेसन्स” कार्यशाला कार्यक्रमको प्रमुख आकर्षण बन्यो । नेपाली हस्तकलामा संलग्न कलाकारहरूले परम्परागत हस्तनिर्मित कागज बनाउँदै यसको दैनिक प्रयोगबारे चिनियाँलाई जानकारी दिए।

समूहमा काम गर्दै विद्यार्थीहरूले स्थानीय रूपमा उपलब्ध वातावरणमैत्री कागज प्रयोग गरी न्यू गड्सः याङ जियान, ह्वाइट स्नेक र लेजन्ड्स अफ हेइ २ जस्ता चलचित्रबाट प्रेरित पोस्टर तथा दृश्यचित्रहरू तयार पारेका थिए । उक्त प्रक्रियामा सहभागीहरूले नेपाली हस्तकला परम्परा र चिनियाँ एनिमेसनलाई सृजनात्मक रूपमा संयोजन गर्दै दुवै देशका सौन्दर्य तत्वहरूको संगम अनुभव गरेको क्षण निकै रमाइलो थियो ।

सोही दिउँसो न्यू गड्सः याङ जियान को प्रदर्शन गरियो । प्रदर्शनपछिको अनलाइन सत्रमा सिर्जनाकर्ताहरूले भौतिक–सिमुलेसन प्रविधिले चलचित्रको पौराणिक संसारलाई जीवन्त बनाउने तरिकाबारे आदानप्रदान गरेका थिए । जबकि ब्लाइन्ड–बक्स गतिविधिले कार्यक्रमको सहज र उत्साहपूर्ण वातावरणलाई निरन्तरता दिएको थियो ।

अन्तिम दिन शुक्रबार काठमाडौं विश्वविद्यालयको कार्यक्रममा बिहान बेइजिङ नर्मल विश्वविद्यालयकी प्राध्यापक झाङ यानले “चलचित्र उद्योगमा एआईद्वारा प्रेरित रूपान्तरण र नवप्रवर्तन” शीर्षकमा विशेष प्रवचन दिएकी थिइन् । उनले कृत्रिम बुद्धिमत्ताले चलचित्र निर्माण र उद्योग विकासमा ल्याइरहेको परिवर्तनबारे जानकारी गराइन् ।

शिक्षक तथा विद्यार्थीहरूसँग गहिरो संवाद गर्दै सांस्कृतिक र सिर्जनात्मक उत्पादन खण्डमा न्यू गड्सः याङ जियान का कलेक्सन कार्ड र सिर्जनात्मक ब्लाइन्ड–बक्सजस्ता चिनियाँ चलचित्र सामग्रीहरू विद्यार्थीहरूमाझ अत्यन्त लोकप्रिय भएको बारे चर्चा गरियो ।

सांस्कृतिक तथा सिर्जनात्मक क्षेत्रकी प्रमुख योजनाकार ली चियानले भनिन्, “हामी आशा गर्छौं कि सौन्दर्य र कथावस्तुले भरिपूर्ण यी सांस्कृतिक–सिर्जनात्मक उत्पादनहरूले नेपाली युवाहरूलाई चिनियाँ एनिमेसनको दृश्य आकर्षण मात्र होइन, त्यसभित्रको सांस्कृतिक भावना र नवप्रवर्तनको आत्मा पनि अनुभूति गराउनेछन्।”

दिउँसो लेजन्ड्स अफ हेइ २ को प्रदर्शनपछि नेपाली शिक्षक तथा विद्यार्थीहरूले चिनियाँ टोलीसँग हस्ताक्षर आदानप्रदान र सामूहिक तस्बिर खिचे।का थिए । “हिमाल वरिपरि, हामी छविमार्फत भेटिन्छौं” लेखिएको ब्यानर उचाल्दा काठमाडौं विश्वविद्यालय परिसरमा हर्ष छाएको थियो ।

प्रतिक्रिया दिनुहोस्