धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषामातहत प्रहरी चौकी जानकीमा कार्यरत देखाइएका बरिष्ठ सई सागर राणामाथि जिल्लाका विभिन्न स्थानमा तस्करी तथा हुन्डी कारोबारमा संलग्न रही अवैध धन्दा सञ्चालन गरेको गम्भीर आरोप लागेको छ ।

सागर राणा प्रहरी चौकी जानकीमै कार्यरत रहेर जिल्लाभर ‘घुमुवा’ को भूमिकामा सक्रिय रहेको र उनलाई हालका एसपी रुगम कँुवरको सीधा संरक्षण रहेको आरोप छ ।
स्थानीय स्रोतका अनुसार, सागर राणा यसअघि धनुषामै कार्यरत रहँदा तत्कालीन एसपी नरहरि रेग्मीका निकट व्यक्ति थिए । सोही कारण उनलाई ‘घुमुवा’ बनाएर अवैध गतिविधि सञ्चालन गराइएको र ठूलो रकम असुली गरी माथिल्लो तहसम्म बुझाउने गरिएको आरोप छ । अत्यधिक असुली र पहुँचका आधारमा उनलाई त्यतिबेला ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको बताइन्छ ।
६ महिना नबित्दै हालका एसपी रुगम कँुवरले धनुषामा सरुवा भएर आएको दुई महिनाभित्रै पुनः सागर राणालाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरेपछि प्रहरी संगठनभित्र र बाहिर चर्को आलोचना सुरु भएको छ ।
आरोपित सई सागर राणा आफ्नै गृहजिल्लामा कार्यरत रहँदा पनि यस्तै गतिविधिका कारण विवादमा मुछिएपछि मधेश प्रदेशमा तानिएको जनाइएको छ । त्यसक्रममा पहुँच र प्रभावको भरमा उनी जिल्ला प्रहरी कार्यालय बारामा फर्किएर फेरि पुरानै शैलीमा ‘घुमुवा’को रूपमा अवैध धन्दा चलाएको भन्दै उजुरीहरू परेका थिए, जसले प्रहरी हेडक्वाटरसम्म चासो बढाएको थियो ।
लगातारको आलोचना र उजुरीपछि प्रहरी प्रधान कार्यालयले पटक–पटक ताकेता गर्दै उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय रामेछापमा फिर्ता पठाएको बताइन्छ । तर, त्यहाँ पनि विवादमा परेपछि उनी हेडक्वाटर तानिएका थिए । केही समयमै फेरि पावर र पहुँचको भरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा भएको स्रोतको दाबी छ ।
मकवानपुरबाट पनि ‘मालदार’ ठाउँ खोज्दै धनुषा आएका सागर राणाले केही दिनमै आफ्नै गाउँका वडाध्यक्षलाई गाली–बेइज्जत तथा कुटपिट गरेको आरोप लागेपछि विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित–प्रसारित भएको थियो । उक्त घटनापछि उनीविरुद्ध मुद्दा समेत दर्ता भएको जनाइएको छ ।
यस सम्पूर्ण प्रकरणबारे जिल्ला प्रहरी कार्यालय धनुषाले औपचारिक प्रतिक्रिया नदिएको अवस्थामा प्रहरी संगठनभित्रैबाट सागर राणाको भूमिकाबारे निष्पक्ष छानबिन, संरक्षण आरोपमा मुछिएका जिम्मेवार अधिकारीको जवाफदेहिता र कडा कारबाहीको माग तीव्र बन्दै गएको छ । एसपी कुँवरले तिनै सई राणालाई ‘पुलिस अफ द मन्थ’बाट सम्मानित गरेका छन् ।












