काठमाडौं । गत भदौ २३ गतेको दमन र २४ गतेको आगजनी तथा तोडफोडका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने अन्तिम तयारी गरेको छ ।

ओलीले आफु कुनै पनि हालतमा बयानका लागि नजाने बताइरहेका समयमा आयोगले ओली र लेखकको बयान लिने तयारी गरेको हो ।
आयोगले हाल काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज र वर्तमान प्रहरी महानिरीक्षक एवं तत्कालीन एआईजी दानबहादुर कार्कीको बयान लिइरहेको छ । आयोगले एक साता भित्रै उनीहरूको बयान लिने तयारी गरेको छ ।
आयोगले अहिले बयान चलिरहेका कार्की र छविराजको बयान सकिने बित्तिकै ओली र लेखकको बयान लिने तयारी भइरहेको जनाएको छ । आयोगले बयानमा बोलाउनुपर्ने सबैको बयान लिइने बताएको छ ।
तत्कालीन गृहमन्त्री रमेश लेखकले आफू जुनसुकै समयमा पनि बयानका लागि तयार रहेको आयोगलाई जानकारी गराइसकेका छन् । “बरु गोली खान तयार रहेको तर, आयोगलाई बयान दिन नजाने” र बयान दिँदै हिडेका ओलीको बयान कसरी लिने भन्ने विषयमा आयोगमा पनि छलफल चलिरहेको छ । ओलीको बयानका लागि आयोग सुरक्षा निकायको सहयोग लिने विषयमा पनि छलफलमा जुटेको छ ।
यता ओलीले आइतबार मात्रै एक अन्तर्वार्ता “बयान दिन्नँ, गोली ठोके हुन्छ । रिजल्ट नै निकालिसकेपछि जाँच किन दिने ? बयान नदिएकै कारण गिरफ्तार हुनुपरे पनि तयार छु” भन्दै आयोगको नै मजाक उडाएका थिए । यस्तै,ओलीले एमालेको ११ औँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकै दिन कसैले आफूलाई छोए मात्रै देश नै ठप्प पार्ने बताएका थिए ।
यता आयोग गिरफ्तारीसम्मका विकल्पमा पनि पुगेको जनाइएको छ । आयोगले यसअघि नै बानेश्वरमा गोली चलाउने सुरक्षाकर्मी, कमान्डर, प्रमुख जिल्लअधिकारी र गृहसचिवसँग बयान लिइसकेको छ । अब माथिल्लो तहका लागि प्रश्नहरूको खाका पनि तयार पार्दै छ ।












