काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा सम्पन्न संयुक्त जेनजी आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमाथि सुशीला कार्की नेतृत्वको सरकारले गरेको प्रहरी दमनप्रति संयुक्त जेनजी आन्दोलनले भर्त्सना गरेको छ ।

सोमबार मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेको थियो । आन्दोलनका संयोजक मिराज ढुंगाना र आन्दोलन कमाण्डर सुनिल सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,’शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्दा केही आन्दोलनकारी घाइते भएका छन् र केहीलाई अवैधानिक रूपमा नियन्त्रणमा लिइए पनि सामूहिक गिरफ्तारीको दबाबपछि तत्काल रिहा गर्न बाध्य हुनुले सरकारको दमनकारी प्रवृत्ति उजागर गरेको छ ।’
वार्ता र संवादमार्फत आफ्ना जायज मागहरू समाधान गर्न सरकारसहित सबै सरोकारवाला पक्षहरूसँग संवादको ढोका खुला राखेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जेनजी आन्दोलनका मागहरू पूरा नभएसम्म आन्दोलन अझ सङ्गठित र सशक्त रूपमा निरन्तर अघि बढ्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाएर जेनजीमाथि दमन गरिएमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने उनीहरुको माग छ ।
यसैबिच संयुक्त जेनजी आन्दोलनले मंगलबार बिहान ११ बजे एकताबद्ध हुँदै अझ सशक्त रूपमा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्णमा आग्रह गरेको छ । संयुक्त जेनजी आन्दोलन डर, धम्की र दमनबाट विचलित नहुने चेतावनी समेत दिइएको छ ।
‘जनताको आवाज दबाउने प्रयास इतिहासमा कहिल्यै सफल भएको छैन । न्याय, समानता र उत्तरदायी शासन स्थापनाका लागि हाम्रो सङ्घर्ष निरन्तर रहनेछ,’ विज्ञप्तिमा भनिएको छ ।













