Logo
Logo

ओलीलक्षित प्रधानमन्त्री कार्कीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि !


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै ‘टुँडिखेलमा गोली हान्ने कुरा’ भएको टिप्पणी गरेकी छन् ।

आइतबार हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने स्पष्ट गर्दै, त्यसबापत पक्राउ परे पनि तयार रहेको प्रतिक्रिया दिएका थिए । उनले आयोगको विश्वसनीयतामाथि प्रश्न उठाउँदै बयान नदिएकै कारण आफूलाई गोली नै हाने पनि हुने भनी आक्रोश व्यक्त गरेका थिए ।

सोमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अनुसन्धानका लागि पक्राउ गर्ने पनि कानुन हुने बताउँदै मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्नेकुरा नभएको बताइन् आफूहरू कानुनका ज्ञाता भएकाले कानुनअनुसार अघि बढ्ने बताइन् ।

उनले भनिन्, ‘सधैँ राजनीति पार्टीको मात्रै गीत गाएर त हुँदैन । उन्नति त देशको हुनुपर्‍यो नि, विकास त हुनुपर्‍यो । त्यसैकारण एकै रातारात सबैकुरा पनि हुँदैन । मान्छेलाई पक्रिएर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानुन भनेको । हामी त कानुनका ज्ञाता मान्छेहरू हौँ ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको दमन र भदौ २४ गतेको आगजनी घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।

आयोगले कम्तीमा एक साताको समय दिने गरी पत्र पठाउने तयारी गरेको छ । हाल आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालको बयान लिइरहेको छ भने वर्तमान आईजीपी तथा तत्कालीन एआईजी दानबहादुर कार्कीको बयानको केही अंश बाँकी छ । ती बयान एक(दुई दिनभित्र सम्पन्न भएपछि आयोगले ओलीलाई पत्र पठाउने तयारी गर्नेछ ।

आयोगले आफ्नै कर्मचारी वा सुरक्षाकर्मी परिचालन गरेर म्याद तामेल गर्ने तयारी गरेको छ । यसैबीच, तत्कालीन गृहमन्त्री रमेश लेखकले पूर्वसूचना प्राप्त भए आफू कुनै पनि दिन आयोगमा उपस्थित भई आफ्नो भनाइ राख्न तयार रहेको मौखिक सन्देश आयोगका एक सदस्यमार्फत पठाएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीको बयानबारे भने आयोगका अध्यक्ष र सदस्यहरूबीच नियमित छलफल भइरहेको छ । म्याद कसरी तामेल गर्ने र ओली बयानका लागि उपस्थित नभएमा के गर्ने भन्ने विषयमा विभिन्न विकल्पमा छलफल भए पनि आयोग अहिलेसम्म कुनै ठोस निष्कर्षमा पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्