
रौतहट । शीतलहर र बढ्दो चिसोका कारण गौरका विद्यालय चार दिन बिदा दिइएको छ ।
गौर नगरपालिकाले सूचना जारी गर्दै आफ्नो क्षेत्रमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले बर्से बिदाबाट कट्टा हुने गरी आजदेखि ११ गतेसम्म पठनपाठनको कार्य बन्द गर्न गराउन भनेको हो ।
चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून भएको र पठन पाठनमा पनि समस्या आएपछि पालिकाका सबै विद्यालयहरु बन्द गरिएको गौर नगरपालिकाका नगरप्रमुख शम्भू साहले बताए ।
अत्याधिक चिसोले गर्दा शिशु कक्षा र प्राथमिक तहका विद्यार्थीहरुको स्वास्थ्यमा असर गर्न सक्ने भएकोले विद्यालय बन्द गरिएको उनको भनाइ छ ।
नगरपलिकाले सूचना जारी गरेपछि गौर नगर प्याब्सनले पनि सबै निजी विद्यालयहरुलाई चार दिनसम्म बन्द गर्ने जनाएको छ ।
रौतहटमा बिहान बाक्लो हुस्सुसँगै शीत खस्ने र दिनभरी कुहिरो लाग्न थालेपछि चिसो बढेको छ । कुहीरोसँगै चल्ने चिसो हावाले मानिसको चहलपहलमा पनि कमी आएको छ ।












