
काठमाडौैं । महिला उद्यमी महासंघ नेपालको १०औं महाधिवेशनले २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
महासंघको सोमबार सम्पन्न २२औँ वार्षिक साधारण सभा तथा १०औँ महाधिवेशनले दर्शना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
देशभरका महिला उद्यमीको छाता संगठनका रूपमा कार्यरत महासंघ स्थापना कालदेखि महिला उद्यमीको विकास, प्रवद्र्धन तथा सामाजिक–आर्थिक सशक्तिकरणमा क्रियाशील रहँदै आएको छ ।
महासंघले हाल नेपालका ७७ वटै जिल्लामा संगठन विस्तार गरी पाँच हजार ५०० भन्दा बढी महिला उद्यमीलाई आबद्ध गरेको छ । साथै सातै प्रदेशमा प्रदेशस्तरीय महासंघ गठन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका नीति निर्माण र निर्णय प्रक्रियामा महिला उद्यमीका हक, अधिकार र सरोकारका विषयमा सशक्त रूपमा वकालत गर्दै आएको जनाएको छ ।
महासंघको २२औँ वार्षिक साधारण सभा अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा अध्यक्ष ज्ञवालीले आफ्नो कार्यकालमा महासघमार्फत सञ्चालन गरिएका कार्यक्रम, उपलब्धि तथा चुनौतीबारे जानकारी गराएकी थिइन् ।
साधारण सभामा महासंघका महासचिव कुन्नम पोखरेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन् भने कोषाध्यक्ष सविता सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्।
प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महिला उद्यमशीलता विकासमा निजी क्षेत्र र महासंघबीच सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे ।
महाधिवेशनको अवसरमा जिल्लास्तरमा उत्कृष्ट महिला उद्यमी संघ तथा व्यक्तिगत महिला उद्यमीलाई सम्मान गरिएको थियो । साथै महासंघको स्थापना कालदेखि निरन्तर योगदान पर्याउने संस्थापक सदस्यलाई पनि सम्मान प्रदान गरिएको थियो ।












