Logo
Logo

नाडाको साधारणसभामा अदालतको रोक


693
Shares

काठमाडौं । करण चौधरीले एकपक्षीय रूपमा बोलाएको नाडाको साधारणसभा तत्कालका लागि टरेको छ । उच्च अदालत पाटनले छलफलका लागि पुस १३ गतेका लागि बोलाएको छ । यो आदेशसँगै पुस ९ मा बोलाइएको साधारणसभा टरेको हो ।

पाटन उच्च अदालतले अन्तरिम आदेश छलफलको मिति पुस १३ लाई तोकेसँगै अब साधारणसभा सर्ने भएको हो । नाडाको साधारणसभाले निर्वाचनसमेत गर्नुपर्नेमा अध्यक्ष चौधरीले चुनावी प्रक्रिया सुरु नै नगरी साधारणसभा गर्ने तयारी गरेपछि असन्तुष्ट पक्षले अदालतमा रिट दायर गरेको थियो ।

चौधरीले भने आफ्नै होटल प्लाजामा साधारणसभा तयारी गरिरहेका छन् । तर सो साधारणसभा अदालतले पेशी तोकेसँगै सम्पन्न गर्न नहुने नाडाका पदाधिकारीहरुले बताएका छन् ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि नाडालाई महासंघमा नलैजान निर्देशन दिएको छ । तर अध्यक्ष चौधरीले पटक–पटक जिल्ला प्रशासन कार्यालयको निर्देशन अटेर गर्दै आएका छन् ।

चौधरीले निर्देशन अवज्ञा गर्नुका साथै प्रचलित कानुन र विधानविपरीतका गतिविधि निरन्तर गरिरहेको आरोप छ । त्यसैले चौधरीमाथि जिल्ला प्रशासन कार्यालयले आवश्यक कारबाही गर्नुपर्ने माग पदाधिकारीहरूले उठाउँदै आएका छन् ।

चौधरीले नाडालाई महासंघ बनाउने भन्दै भदौ २४ का लागि विशेष साधारणसभा बोलाएकोमा असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको थियो । यसअघि पनि असन्तुष्ट समूहसँग छलफल गरेर विवाद सुल्झाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयले निर्देशन दिए पनि चौधरीले उक्त निर्देशन अटेर गरी एकपक्षीय ढंगले साधारणसभाको मिति तोकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्