काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग भएको लामो भेटघाटपछि अबको राजनीतिक संवाद मुख्य रूपमा अन्य नयाँ तथा वैकल्पिक शक्तिहरूसँग केन्द्रित हुने बताएका छन् ।

मङ्गलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका प्रमुख अगुवा सुदन गुरुङसँग छलफल जारी रहेको र वर्तमान सरकारका ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग पनि चाँडै वार्ता अघि बढाउने जानकारी दिए ।
उनले परिवर्तन र सुधार चाहने सबै शक्तिहरूलाई एकै ठाउँमा उभ्याउनुपर्नेमा जोड दिँदै भने, ‘हामी सबै परिवर्तनका पक्षधरहरू संवाद गरेर एकजुट हुनुपर्छ । सुदन गुरुङजीसँग कुराकानी भइरहेको छ, अब समय मिलाएर ऊर्जामन्त्री कुलमानजीसँग पनि गहिरो छलफल गर्छौँ ।’
यसअघि सोमबार राति कमलपोखरीमा भएको करिब ६ घण्टा लामो भेटमा रवि लामिछाने र बालेन शाहबीच राजनीतिक सहकार्यको प्रारम्भिक खाका तय गर्ने प्रयास भएको बुझिएको छ । यो भेटलाई वैकल्पिक राजनीतिक शक्तिहरूको एकीकरण वा सहकार्यको दिशामा महत्त्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ ।












