Logo
Logo

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा एसएसपी गिरीविरुद्ध भ्रष्टाचार मुद्दा


3.3k
Shares

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सेवामा प्रवेश गरेको आरोपमा नेपाल प्रहरीका एसएसपी (वरिष्ठ उपरीक्षक) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले नेपाल प्रहरी अस्पतालमा कार्यरत एसएसपी लालबाबु गिरीविरुद्ध मङ्गलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार गिरीको एसएलसीको प्रमाणपत्र नक्कली भेटिएको छ । उनले सन् १९८८ मा बिहार स्कुल एक्जामिनेश बोर्ड पट्ना, भारतबाट एसएलसी पास गरेको भन्दै प्रमाण पत्र पेश गरेर प्रहरीमा भर्ना भएका थिए ।

तर बिहार विद्यालय परीक्षा समितिमा बुझ्दा उनले त्यहाँबाट एसएलसी पास नगरेको भेटिएपछि मुद्दा दायर गरिएको बताइएको छ ।

पटनाको अभिलेखमा अन्तिम क्रमांक ५७६ रहेकोमा गिरीले पेश गरेको प्रमाणपत्रमा भने ७१८ भेटिएकाले उनले नक्कली बनाएर पेश गरेको दाबी अख्तियारको छ ।

उनले २०५० सालमा पीसीएल नर्सिङ र २०६३ सालमा पोस्ट बेसिक ब्याचलर इन नर्सिङ गरेका थिए । उनी १६ पुस २०५२ मा प्राविधिक सईको रूपमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए ।

उनी अनिवार्य अवकाश पाउन जम्मा जम्मी एक सातामात्रै बाँकी थियो । उनी यही पुस १५ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदै थिए ।

प्रतिक्रिया दिनुहोस्