काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय पर सर्न सक्ने बताएका छन् ।

काठमाडौंमा मंगलबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले महाधिवेशनबारे चासो बढे पनि यो कुनै असामान्य विषय नभएको बताए ।
उनले महाधिवेशन कांग्रेसको नियमित प्रक्रिया भएको उल्लेख गर्दै हरेक चार वर्षमा हुने पार्टी अधिवेशनलाई लिएर अत्यधिक चासो देखाउन आवश्यक नरहेको धारणा राखे । आफूले जानाजानी महाधिवेशन सार्न नखोजेको स्पष्ट पार्दै कोइरालाले सिरियल नम्बर नभएका क्रियाशील सदस्यता वितरणको प्रक्रियाका कारण केही समय ढिलाइ हुनसक्ने बताए । यद्यपि, आफू २६ पुसमै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेको उनले स्पष्ट पारे ।
महाधिवेशनबारे बारम्बार सोधिने प्रश्नप्रति असन्तुष्टि जनाउँदै कोइरालाले भने, “कांग्रेसको महाधिवेशन नियमित प्रक्रिया हो । हरेक चार–चार वर्षमा हुन्छ र भइरहन्छ। यसबारे किन यति धेरै चिन्ता गरिएको हो, मलाई बुझ्न गाह्रो लागेको छ । कहिलेकाहीँ त दिक्क पनि लाग्छ ।”
उनले सरकारद्वारा २१ फागुनका लागि तोकिएको निर्वाचन मितिमा चुनाव हुन सम्भव नरहेको दाबी गर्दै हाल निर्वाचनको माहोल कतै नदेखिएको बताए ।












