
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक कालोपत्रे गर्न बोलपत्र आह्वान सम्बन्धी सूचना लुकाउनका लागि नगरपालिकाका कर्मचारी र सम्पादकको मिलेमतोमा एकप्रति मात्रै पत्रिका छापेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा र सहलेखापाल उपेन्द्रकुमार साह तथा जन प्रतिबिम्ब दैनिकका सम्पादक सञ्जयकुमार साहविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले सडक कालोपत्र गर्नका लागि बोलपत्र आह्वान सम्बन्धी सूचना लुकाउन एकप्रति मात्रै पत्रिका छापेर ६५ हजार रुपैयाँ हानी नोक्सानी पुर्याएको पाइएकाले मुद्दा दर्ता गरिएको जानकारी दिए ।
अख्तियारले विशेष अदालतमा दर्ता गरेको आरोपत्रमा बहुदरमाई नगरपालिका–२ बैरिया पानीटंकी प्रवेशद्वारदेखि पिपरा हुँदै महावीर साह माध्इमिक विद्यालयसम्म जाने सडक मर्मत गर्नुपर्ने कार्यका लागि बोलपत्रको सूचना लुकाएको आरोप छ । राष्ट्रिय वा स्थानीय स्तरको पत्रिकामा सूचना प्रकाशित गर्नुपर्नेमा उनीहरूले आफ्नो मान्छेलाई ठेक्का पार्न एकप्रति मात्रै पत्रिका प्रकाशित गरेको पाइएको अख्तियारको दाबी छ ।
त्यो सूचना प्रकाशित गरे वाफत जन प्रतिबिम्ब दैनिलाई ६५ हजार रुपैयाँ भुक्तानी भएको देखिएको छ । पत्रिकामा सूचना प्रकाशित नगरी नगराई झुट्टा बिल भरपाई बनाएर ६५ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ।












