Logo
Logo

रवि-बालेन वान टू वान वार्ता जारी


882
Shares

काठमाडौं । वैकल्पिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच वान टू वान वार्ता जारी छ ।

बालेन समूहका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा वार्ता सुरु भएको हो । यसअघि सोही ठाउँमा बालेन र कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सुनील शर्माबीच छलफल भएको थियो ।

छलफलबाट बाहिरिने क्रममा कांग्रेस नेता शर्माले प्रतिनिधिसभा पुनर्स्थापना भए के हुन्छ भन्नेबारेमा आफूले बालेनसँग छलफल गरेको बताएका थिए ।

अहिले रवि लामिछानेले सोही ठाउँमा बालेनसँग वार्ता थालेका हुन् । रविका साथमा असिम शाह, गणेश कार्की पनि त्यहाँ पुगेका छन् । तर, वार्तामा उनीहरू भने सहभागी छैनन् ।

वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल, जेनजी आन्दोलनपछि चर्चामा आएका हामी नेपाल नामका अध्यक्ष सुदन गुरुङ पनि त्यहाँ पुगेका छन् ।

यसअघि सोमबार राति पनि रवि र बालेनबीच लामो समय छलफल चलेको थियो । रास्वपा नेता शाहको कमलपोखरीस्थित घरमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए ।

अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । यिनै सेरोफेरोमा केन्द्रित रहेर दुई नेताबीच छलफल चलेको नेताहरूले बताएका छन् ।

बालेनले आजै बिहान पनि ऊर्जामन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्