काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशको समृद्धिको आधार युवाहरू नै भएको बताएका छन् । बिहीबार दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको भविष्य युवाको ज्ञान, सीप र क्षमतामा निर्भर रहेको उल्लेख गरे ।

दीक्षित विद्यार्थीहरूलाई शुभकामना दिँदै मन्त्री पुनले निरन्तर जिज्ञासा, कठोर परिश्रम र असफलतासँग जुधेर हासिल गरेको सफलताको प्रतीक नै उपाधि भएको बताए । “२१औँ शताब्दीको विश्वले अब ‘तपाईंको डिग्री के हो रु’ भन्दा पनि ‘तपाईं के गर्न सक्नुहुन्छ रु’ भन्ने प्रश्न गर्नेछ,” उनले भने, “त्यसैले आफ्नै ज्ञान र सीपले समाजका कुन समस्या समाधान गर्न सकिन्छ भन्ने प्रश्न सधैं आफैँसँग गर्नुपर्छ। तपाईंहरूको काँधमै यो देश अडिएको छ।”
उनले विश्वविद्यालयका प्रयोगशाला र कार्यशालालाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा शिक्षाको भूमिका निर्णायक हुने धारणा राखे । “हाम्रा प्रयोगशाला र अनुसन्धान केन्द्र आत्मनिर्भर अर्थतन्त्रको मुटु बन्नुपर्छ,” उनले भने।
मन्त्री पुनले प्रविधि, सुदृढ अर्थतन्त्र र सामाजिक विकासबीच सेतुको भूमिका निर्वाह गर्न युवाहरू सक्षम हुनुपर्ने बताए । जलस्रोत, खनिज, जैविक विविधता तथा रैथाने र परम्परागत ज्ञान-प्रविधिलाई व्यावहारिक अनुसन्धान र उद्यमसँग नजोडेसम्म आत्मनिर्भरता सम्भव नहुने उनको भनाइ थियो ।
“यी सम्भावनालाई व्यवहारमा उतार्ने जिम्मेवारी अब दीक्षित युवाहरूको काँधमा छ,” मन्त्री पुनले जोड दिँदै भने, “यस दीक्षान्त समारोहबाट निस्कने विद्यार्थीहरूले यो मर्म गहिरोसँग बुझ्नेछन् भन्नेमा म विश्वस्त छु।”












