Logo
Logo

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान


945
Shares

मस्को । रूसी आणविक-सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन सागर र बेरेन्ट्स सागरमाथि ‘निर्धारित’ उडान गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । उक्त उडानका क्रममा ‘विदेशी देशका लडाकु जेटहरू’ ले रूसी विमानलाई एस्कर्ट गरेको रूसी समाचार एजेन्सीहरूले बिहीबार जानकारी दिएका छन् ।

The current image has no alternative text. The file name is: russa-1.jpg

रक्षा मन्त्रालयका अनुसार टीयू–९५एमएस रणनीतिक बमवर्षक तथा मिसाइल वाहक विमानहरूले बेरेन्ट्स र नर्वेजियन सागरको तटस्थ पानीमाथि उडान गरेका हुन् । तर उडानको ठ्याक्कै मिति तथा एस्कर्टका लागि लडाकु जेट तैनाथ गर्ने देशहरूको नाम भने मन्त्रालयले सार्वजनिक गरेको छैन ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘मार्गका केही चरणमा रूसी लामो दूरीका बमवर्षकहरूलाई विदेशी देशका लडाकु जेटहरूले एस्कर्ट गरेका थिए’ भनिएको छ । साथै यस्ता उडानहरू विभिन्न क्षेत्रहरूमा नियमित रूपमा हुने र अन्तर्राष्ट्रिय कानुन तथा नियमहरूको पूर्ण पालना गर्दै सञ्चालन गरिने पनि स्पष्ट पारिएको छ ।

यसै महिनाको सुरुमा दक्षिण कोरिया र जापानले आफ्ना क्षेत्र नजिकै रूसी तथा चिनियाँ सैन्य विमान उडान गरेको भन्दै आपत्ति जनाएका थिए । ती उडानपछि दुवै देशले आफ्ना लडाकु जेटहरू आकस्मिक रूपमा परिचालन गर्नुपरेको बताएका थिए ।

जापानको रक्षा मन्त्रालयका अनुसार दुई रूसी टीयू-९५ बमवर्षक विमान जापान सागर हुँदै उड्दै पूर्वी चीन सागरमा दुई चिनियाँ एच–६ बमवर्षकसँग भेट भएका थिए । त्यसपछि ती विमानहरूले जापान वरिपरि संयुक्त उडान गरेका थिए ।

विशेषगरी युरोप र एसिया-प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बढिरहेका बेला यस्ता गतिविधिलाई क्षेत्रीय सुरक्षा सन्तुलनसँग जोडेर हेरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्