काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको छ । जेनजी आन्दोलनपछि बिहीबार बसेको दलको पहिलो बैठकले यो निर्णय गरेको हो ।

बैठकले जारी गरेको निर्णयमा बदलिएको राजनीतिक परिस्थितिमा असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएको छ । यस अवस्थामा जनताको आवाज उठाउने एकमात्र सार्वभौम निकाय राष्ट्रिय सभा कायम रहेकोले यसको बैठक बस्न अत्यावश्यक रहेको उल्लेख छ ।
प्रमुख सचेतक कृष्णबहादुर रोकायले गहन छलफलपछि यो निष्कर्षमा पुगिएको बताए । ‘प्रतिनिधिसभा विघटन संविधानविपरीत छ,’ उनले भने, ‘पार्टीले यसअघि नै यो धारणा राखिसकेको छ ।’
२३-२४ भदौमा जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएका थिए । नयाँ सरकार नबनेपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भई सोही दिन प्रतिनिधिसभा विघटन गरिएको थियो ।
आगामी २१ फागुनमा निर्वाचन तोकिएको छ । विघटित संसद्का कांग्रेस र एमाले सांसदहरू सर्वोच्च अदालतमा पुगेका छन् । यसै सन्दर्भमा कांग्रेस राष्ट्रिय सभा दलले विघटन असंवैधानिक ठहर गर्दै राष्ट्रिय सभाको अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ ।












