काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज काठमाडौंस्थित दशरथ रङ्गशालामा सम्पन्न भएको छ । समारोहमा १६ हजारभन्दा बढी विद्यार्थी र उनीहरूका परिवार सहभागी भएका थिए ।

त्रिविको यस दीक्षान्त समारोहमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति महावीर पुन पनि समारोहमा विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।
२०८१ असार १ देखि २०८२ जेठ मसान्तसम्म स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक उपाधि प्राप्त गर्ने ८९ हजार १ सय ९१ विद्यार्थी दीक्षित भएको त्रिविले जानकारी दिएको छ । त्रिविका मेडिकल, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, वन, कृषि तथा पशु विज्ञान, व्यवस्थापन, मानविकी तथा सामाजिक विज्ञान र कानुन गरी ९ सङ्कायमा स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडीसम्मका कार्यक्रम सञ्चालनमा छन् ।












