विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर/स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरेको छ ।

महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा खसी, बाख्रा र सुँगुर-बङ्गुरमा लाग्ने पिपीआर/रस्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरिएको हो । विराटनगर-४ इक्राहीस्थित पूजा कृषि फार्मबाट खोप अभियान सुरु गरिएको शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए ।
सबै वडामा किसानले पालेका २४ हजार १०० खसीबाख्रालाई पिपीआर खोप लगाइनेछ । त्यस्तै सुँगुर-बङ्गुरलाई एक हजार १०० डोज खोप लगाइने शाखाका संयोजक यादवले जानकारी दिए ।
आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले यस किसिमको खोपबाट पशुमा अनाहक रूपमा लाग्ने रोगलाई नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।












