एजेन्सी । चीनले इन्टरनेट उपग्रह ‘लङ मार्च–८ ए’ रकेट दक्षिणी टापु प्रान्त हाइनानबाट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहको एक समूहलाई उसले अन्तरिक्षमा पठाएको हो । ‘लङ मार्च–८ ए’ चीनले विकास गरेको आधुनिक रकेट हो । यसको मुख्य उद्देश्य उपग्रहहरूलाई अन्तरिक्षमा पठाउनु रहेको छ ।
यो लङ मार्च रकेट शृङ्खलाको उन्नत संस्करण मानिन्छ र विशेष गरी पृथ्वी कक्षमा इन्टरनेट, सञ्चार तथा प्रविधिसम्बन्धी उपग्रह प्रक्षेपणका लागि प्रयोग गरिन्छ । उच्च सटीकता, विश्वसनीयता र व्यावसायिक तथा सरकारी प्रयोजनका लागि उपयुक्त क्षमताका कारण ‘लङ मार्च–८ ए’ चीनको अन्तरिक्ष कार्यक्रमको महत्त्वपूर्ण हिस्सा बनेको छ ।
हिजो बिहान ७ बजेर २६ मिनेटमा हाइनानमा रहेको व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट उडेको रकेटले न्यून पृथ्वी कक्षमा रहेका इन्टरनेट उपग्रहहरूको १७औँ समूहलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।
यो प्रक्षेपणबाट चीनको अन्तरिक्षमा आधारित इन्टरनेट सञ्जाल विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।












