Logo
Logo

माटोसँग खेल्दै विश्व बजारमा पुगेकी शुभेच्छा


शुभेच्छा सिंह, सञ्चालक, माटो क्राफ्ट

0
Shares

कला र सीप भए देशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण हुन् शुभेच्छा सिंह । उनी माटोसँग खेल्छिन्, रमाउँछिन् र माटोमै आत्मनिर्भर बनेकी छिन् । तीन वर्षयता माटो क्राफ्ट सञ्चालन गर्दै आएकी शुभेच्छा भन्छिन्, ‘म आफ्नै माटोसँग रमाइरहेकी छु ।’ उनी एक प्रकारको कृत्रिम माटोबाट विभिन्न डिजाइनका झुम्का, टप तथा सौन्दर्य र सजावटका सामग्री बनाउँछिन् । पाँच हजार रुपैयाँ लगानीमा सुरुवात गरेको उनको यो व्यवसायको हाल ब्राण्ड भ्यालु ५० लाख पुगेको छ । शुभेच्छाको यो व्यवसायी विदेशसम्म फैलिएको छ । उनी भन्छ्नि, ‘देश–विदेशबाट अर्डर आइरहेको छ । अहिले मलाई भ्याइनभ्याइ छ ।’ सानैदेखि ‘विजनेश वुमन’ बन्ने सपना र लक्ष्य लिएकी २२ वर्षीया शुभेच्छा हाल कम्युटर साइन्समा स्नातकका साथै टेक्नोलोजीमा चौथौ वर्षमा अध्ययनरत छिन् । उनै ‘माटो क्राफ्ट’की सञ्चालक शुभेच्छा सिंहसँग दृष्टि संवाददाताको जम्काभेट ।

‘माटो क्राफ्ट’ सञ्चालन गर्ने योजना कसरी बनाउनुभयो ?

प्लस–टु पढाइ सकेपछि बाहिर जाने तयारी गर्दैथिएँ । तर, परिवारले मेरो विदेश जाने प्रस्तावलाई मानेन । ‘राम्ररी पढ, नेपालमै बसेर केही गर’ भनेपछि म अलमलमा थिएँ । बिचमा कोरोना महामारी आयो र लकडाउन भयो । मलाई पढाइसँगै केही गर्नु थियो । के गर्ने ? भनेर सोच्दै जाँदा एक्कासी मेरो ध्यान माटोमा गयो । म सानैदेखि माटोमा केही बनाइ रहन्थेँ । र, महिला दिदीबहिनीको लागि टप, झुम्मका तयार गर्छु भन्ने लागेर विभिन्न डिजाइनहरू बनाउन थालेँ । जब ती सामान बजारमा ल्याएँ, सबैले मनपराइदिनुभयो । सकारात्मक प्रतिक्रियाहरू आउन थाल्यो र डिमाण्ड पनि बढ्यो । अहिले यही काममा व्यस्त छु ।

कति लगानीमा काम सुरुवात गर्नुभयो ?

सुरूमा घरैबाट पाँच हजारमा काम थालेको थिएँ । यस बिचमा मलाई पार्थ स्टुडेन्ट भेन्चरबाट पनि एक लाख सहयोग भएको थियो । अहिले पचास लाखसम्मको मेरो कारोबार भइरहेको छ । पाटन ढोकामा मेरो कार्यालय छ । पाँचजना कर्मचारी राखेको छु । अरू शाखा पनि बिस्तार गर्ने योजना बनाउँदै छु ।

अरूलाई पनि सिकाउँदै हुनुहुन्छ ?

हो, यो मेरो सौभाग्य पनि हो । मैले जानेको सीप अरूलाई सिकाएर काम दिन पाउँदा खुसी लाग्छ । धेरै महिलाले काम सिक्नुभयो । सीप सिक्यो भने आत्मनिर्भर हुन सकिन्छ । हामी सबै एकजुट भएर लाग्यौँ भने सबै अगाडि बढन सक्छौँ । हामी कसैको अगाडि दबिएर बस्नु पर्दैन ।

सुरूका दिनमा यो काम गर्दा परिवारबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

पहिले गाली खाएँ । माटोमा के खेलेर बसेको, अरु काम गर भनिरहनुहुन्थ्यो । तर, मलाई काम गर्नुथियो । जसरी भए पनि समाजको लागि राम्रो योगदान दिनुथियो । म र मेरो कामलाई सबैले चिनुन्, यसैका लागि म आफनो गन्तव्यमा हिँडिरहेँ । मैले काम गरेर देखाएँ । धेरै सेलिबे्रटी महिला दिदीबहिनीले मेरो काम मनपराईदिनु भएको छ । त्यसकारण म आफ्नो कामप्रति गर्व लाग्छ ।

तपाईँलाई प्रायः कस्तो झुम्का र टपका डिजाइन गर्नुहुन्छ ?

मैले नेपाली कल्चर झल्कने लालीगुराँस जस्ता धेरै बनाएको छु । मैले बनाएको टप र झुम्का विशेषगरी लालीगुराँस र फूलहरूको अर्डर बढी आउछ । साथै, कोट पिनहरू पनि जान्छ । मेरो कामबाट प्रशंसा पाउँदा खुशी लाग्छ । पाँच सयदेखि १५ सयसम्मको टप र झुम्काहरू छन् ।

विदेशबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

अहिले नेपालमा मात्र होइन, बिदेशमा पनि मेरो सामान मनपराइदिनु भएको छ । अर्डरहरू राम्रै आइरहेको छ । धेरै जनाले सामानको खोजी गरेर अर्डर गर्नुभएको छ । दैनिकजसो अर्डर लिइरहेकी छु ।

तपाईँको सामान रुचाउनुको कारण के हो ?

नेपालीपन, परम्परा र हाण्डमेट भएर हुन सक्छ । कति सामान त बनाइदिएर साध्य नै हुँदैन ।

सानो उमेरमै सफलता पाउँदा कस्तो लाग्छ ?

धेरै खुसी लाग्छ । चाहेको काम गर्न पाएको छु । काम गर्दै जाँदा सफलता पाएको छु । मेरो कामलाई मनपराइदिनु भएको छ । कामको प्रशंसा पाइरहेको छु । साथै, दाम कमाउँदै छु ।

तपाईँजस्ता युवाहरूलाई के भन्नुहुन्छ ?

आफैँले सोचेको र चाहेको काम काम गर्नुहोस् । तर, त्यो कामले समाजको लागि केही दिइयोस् । आफनो कामको लक्ष्य बनाउनुस् । म यो काम गरेरै छोडछु भन्दै अघि बढनुुहोस् । खुट्टा तान्नेहरू तान्दै गर्छन् । तपाईँ प्रयास गर्दै जानुस् । धैर्यता र मिहेनतले अवश्य सफल भइन्छ ।

युवाहरूको विदेश पलायन बढ्दैछ । तिनीहरूलाई के भन्नुहुन्छ ?

म पनि विदेश नै जाने तयारीमा थिएँ । तर, परिवारले दिनुभएन । आज मेरो परिवारले गरेको यो निर्णय मेरो लागि राम्रो भएको छ । म विदेश गएको भए मेरो हातको सिप कसैले देख्दैन थिए । कला देखाउने अवसर पनि पाउदिनँ थिएँ । मैले पढाईसँगै सानो लगानीमा आफ्नो काम गरेँ । यस्ता कामहरू देशमै गरियो भने राम्रो हुन्छ । त्यसैले देशमै केही गर्ने प्रयास गरौँ ।

भविष्यको योजना के छ ?

मेरो कलालाई विश्वभर चिनोस् भन्ने मेरो चाहना छ । यसका लागि यहि माटो क्राफ्टलाई बिस्तार गर्दै जाने योजना बनाएकी छु ।

प्रतिक्रिया दिनुहोस्