
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक तथा उर्जामन्त्री कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरु एक हुनुपर्ने बताएका छन् । आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले सके एकता, नसके कार्यगत एकता गरेर भए पनि जानुपर्ने धारणा राखेका हुन्।
उनले भने, ‘सही नेतृत्वहरु, वैकल्पिक शक्तिहरु सबै एक भएर जानुपर्छ । सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौं । त्यसैले सबै नयाँ र मूलधारका शक्तिहरु एक भएर जान म आह्वान गर्छु ।’
नेपाली जनताको चाहना पनि वैकल्पिक शक्तिहरु एक भएर जाओस भन्ने रहेको उनले बताए । ‘आजको दिन नेपाली जनताको सबै वैकल्पिक शक्तिहरु एक होस्, अगाडि बढोस् र नयाँ नेतृत्व दिओस् भन्ने चाहना छ । यसलाई हामी सबैले बुझेर त्यसतर्फ अगाडि बढ्नुपर्छ,’ उनले भने ।
रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएकै दिन घिसिङको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।
उनले बालेनसँग एकता तथा सहकार्यका लागि छलफल समेत अगाडि बढाएका थिए । तर रवि र बालेन एक हुँदा कुलमान भने अहिले छुटेका छन् ।












