Logo
Logo

मोहन बस्नेत मुछिएको टेरामक्स प्रकरणमा थप प्रमाण मगाउने आदेश


441
Shares

काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहन बस्नेत मुछिएको बहुचर्चित टेरामक्स प्रणाली खरिद प्रक्रियामा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतले थप प्रमाणहरू मगाउने र विज्ञको बकपत्र गराउने आदेश दिएको छ ।

The current image has no alternative text. The file name is: mohan.jpg

विशेष अदालतको इजलासले आइतबार उक्त आदेश जारी गरेको हो । पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहितका १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा थप प्रमाण झिकाउन आदेश दिएको हो ।

अदालतले टेरामक्स प्रणाली खरिद प्रक्रिया रद्द गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध परेका रिटहरूमा सर्वोच्च अदालतबाट भएका आदेशहरूको प्रमाणित प्रतिलिपि मगाउन आदेश दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०७६ वैशाख २० गते खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध प्रतिवादीमध्येको ुभेन्राइज सोलुसन’ (Vanrise Solutions SAL)  ले सर्वोच्चमा रिट दायर गरेको थियो ।

उक्त रिट र सोही विषयसँग सम्बन्धित अन्य निवेदनहरूमा सर्वोच्च अदालतबाट भएका आदेशको प्रमाणित प्रतिलिपि झिकाउने आदेश भएको हो ।

यस्तै, अदालतले यस प्रकरणको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा नियुक्त गरिएका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवालीलाई बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको छ । 

विशेष अदालत ऐन, २०५९ को दफा ७(क) बमोजिम विज्ञ ज्ञवालीलाई भौतिक रूपमा वा श्रव्यदृश्य (भिडियो कन्फरेन्स) माध्यमबाट उपस्थित गराई बकपत्र गराउन विशेष सरकारी वकिल कार्यालय, काठमाडौँलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्