
काठमाडौं । ल्हेन्दे खोलामा आएको बाढीका कारण असार २४ गतेदेखि बन्द रहेको रसुवागढी नाका सञ्चालनमा आएको छ ।ल्हेन्दे खोलामा बेलीब्रिज निर्माण सकिएकाले आइतबार बिहानदेखि नै नेपाली ट्रकका चालक केरुङतर्फ जान सुरु गरेका हुन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले रसुवागढी नाका सञ्चालनमा आएको जानकारी दिए । यद्यपी यही पुस १७ गतेदेखि रसुवागढी नाका औपचारिक रुपमा खोल्ने जानकारी चिनियाँ समकक्षीले गराएको पन्थीले बताए ।
गत २४ असार अगाडि सामग्री लिन केरुङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत आइतबार केरूङतर्फ प्रस्थान गरेका सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए।
ल्हेन्देखोला मितेरीपुल बाढीले बगाउँदा असारदेखि नै रसुवागढी नाकाबाट व्यापार व्यवसाय ठप्प छ । गत वर्षको तुलनामा यस अवधिमा भन्सार शुल्कबापत उठ्ने राजस्व २० अर्ब नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिए ।
चिनियाँ पक्षले जारी गरेको सूचनामा आइतबारदेखि सीमापार ढुवानीमा संलग्न यात्रुलाई प्रवेश दिन सुरु गरिएको उल्लेख छ । साथै सबै विदेशी व्यापारिक प्रतिष्ठानले समयमै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने र नेपाल चालक तथा कर्मचारीले प्रवेशअघि नै आवश्यक तयारी, सवारीसाधन लोड तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ ।
आगामी बिहीबारदेखि भन्सार कार्यालयले भित्रिने तथा बाहिरिने सवारीसाधनको निरीक्षण गरेपछि मात्र आवागमनको अनुमति दिने व्यवस्था गरिएको छ । यस अवधिमा एकतर्फी पालैपालो प्रणाली कडाइका साथ लागु गरिने चिनियाँ पक्षले जनाएको छ ।












