Logo
Logo

रास्वपा समानुपातिक सूची : क्षेत्रीय असन्तुलन, सेलिब्रिटीहरुको ‘क्लब’


1.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार राति समानुपातिक उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । 

तर सूचीमा पार्टीभित्रको क्षेत्रीय असन्तुलन, जिल्लागत वर्चस्व र सेलिब्रिटीहरूको प्राथमिकता देखिएको छ । जसले रास्वपामाथि नै प्रश्न चिन्ह खडा भएको छ । 

रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङसँगको एकीकरणपछि ढिलोगरी सूची बुझाएको हो । तीन समूहमा भागबण्डा गरेर बुझाइएको ११० जनाको सूचीमा एउटै जिल्ला चितवनबाट २१ जनाको नाम समावेश छ, जुन पार्टी सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो ।

यो सङ्ख्या समग्र सूचीको उल्लेखनीय हिस्सा हो, जसले गर्दा अन्य जिल्ला र क्षेत्रका प्रतिनिधित्वलाई छायाँमा पारेको छ । उदाहरणका लागि, सुदूरपश्चिमका ९ जिल्लाबाट मात्र २ जना र कर्णालीका १० जिल्लाबाट २ जनाको नाम परेको छ । यस्तो असन्तुलनले प्रश्न उठाउँछ–समानुपातिक प्रणाली कसका लागि ? पहुँचविहीन जनताका लागि कि सभापतिको गृहजिल्ला र निकटस्थहरूलाई व्यवस्थापन गर्नका लागि ?

आदिवासी जनजाति समूहमा रास्वपाले ३२ जनाको नाम समावेश गरेको छ, जसमध्ये चितवनबाट ५ जना (डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी लाक्पा शेर्पा र सुदेश गुरुङ) छन् । यस्तै, खस आर्य समूहमा ३२ जनामध्ये चितवनबाट १६ जना (५० प्रतिशत) छन्, जसमा ८ पुरुष र ८ महिला छन् । पुरुषहरूमा सचिन ढकाल, सुदिप ढकाल, अनुपकुमार उपाध्याय (कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीका अध्यक्ष), गोविन्द नारायण, दुर्गाबहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही र टीकाराम दाहाल छन् ।

महिलाहरूमा विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुसाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, सरला लामिछाने र प्रभा ढकाल छन् । यसले रास्वपाले गर्ने खोजेको समानुपातिक प्रतिनिधित्वलाई नै प्रश्न चिन्ह खडा गरेका छ । किनकि चितवनबाट निर्वाचित सभापति लामिछाने र केन्द्रीय सदस्य हरि ढकालको प्रभाव स्पष्ट देखिन्छ । 

सूचीमा सेलिब्रिटीहरूको उच्च प्राथमिकताले थप विवाद निम्त्याएको छ । रास्वपाले कलाक्षेत्रका ७ जनालाई समानुपातिक उम्मेदवार बनाएको छ । गायक प्रकाश सपुत (दलित पुरुष क्लस्टर), गायिका सत्यकला राई (आदिवासी जनजाति), डा.त्रिशला गुरुङ (आदिवासी जनजाति), अभिनेता आशिफ साह (मुस्लिम पुरुष), अभिनेत्री रिमा विश्वकर्मा (महिला दलित), पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ (आदिवासी जनजाति महिला) र पूर्वमिस्टर नेपाल तथा चिकित्सक डा. रुपक घिमिरे (दलित पुरुष क्लस्टर) । 

यसले राजनीति सेलिब्रिटीहरूको प्लेटफर्म हो वा जनमतको सामना गर्न डराउनेहरूका लागि,उनीहरूको राजनीतिक योगदान के हो ? यस्तो सूचीले रास्वपालाई ‘सेलिब्रिटी क्लब’ जस्तो बनाएको छ । जसले साधारण कार्यकर्ता र पिछडिएका क्षेत्रका प्रतिनिधित्वलाई ओझेलमा पारेको छ ।

यो सूचीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई समानुपातिक बनाएको आलोचनालाई सम्झाउँछ । त्यतिबेला रास्वपा समर्थकहरूले ‘परिवारवाद’ भनेर विरोध गरेका थिए, तर अब आफैँले चितवनलाई ‘परिवार’ जस्तो व्यवहार गरेका छन् । ‘घण्टीधारी’हरूले हिजो आरजुको आलोचना गरेका थिए, तर आज आफ्नो सूचीमा क्षेत्रीय भागबण्डा देखेर कुन तरिकाले प्रतिवाद गर्लान् त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्