काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी नेतृत्व बाँडफाँट गर्ने हल्लालाई हाँस्यास्पद भन्दै निर्वाचनपछि एमाले र नेपाली कांग्रेसबाहेक अन्य कुनै शक्तिले सरकार बनाउन नसक्ने दाबी गरेका छन् ।

मंगलबार मदन-आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको नेकपा एमालेको ११औँ महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचनअघि विभिन्न व्यक्तिहरूले प्रधानमन्त्री पद बाँडेको हल्ला चले पनि निर्वाचनपछि त्यो पद एमाले–कांग्रेसकै हातमा पुग्ने स्पष्ट पारे ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै ओलीले प्रधानमन्त्रीको हल्लामा नाम जोडिएका व्यक्ति ‘अलि बाठै होलान्’ भन्ने ठानेको भए पनि पछिल्ला गतिविधि र निर्णयहरू हेर्दा त्यो अनुमान गलत सावित भएको टिप्पणी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच भएको सहमतिप्रति इङ्गित गर्दै उनले भने, ‘पार्टी सभापति एउटालाई, उपसभापति अर्कोलाई, पार्टी अर्कैलाई जिम्मा लगाएर आफू प्रधानमन्त्री बन्ने ? यो त अस्ती सिंहदरबारमा आगजनी भइरहँदा प्रधानमन्त्री बाँडेझैँ हो ।’ त्यतिबेला जो भेट्यो उसैलाई प्रधानमन्त्री घोषणा गरिएको भन्दै उनले व्यङ्ग्य गरे ।
अध्यक्ष ओलीले प्रधानमन्त्री पद कसले कसलाई बाँडिरहेको भन्ने चर्चा चले पनि यथार्थमा एमाले र कांग्रेसबाहेक अन्य दलले सरकार गठन गर्न सक्ने अवस्था नरहेको दाबी गरे ।
त्यसैगरी, उनले असंवैधानिक रूपमा विघटन गरिएको संसद् तत्काल पुनर्स्थापना हुनुपर्नेमा जोड दिए । सरकार बनाउने, हटाउने र परिवर्तन गर्ने वैधानिक थलो संसद् नै भएको उल्लेख गर्दै असंवैधानिक व्यक्तिबाट संसद् विघटन गरिँदा संविधान नै सङ्कटमा परेको बताए ।
संसद् पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको स्मरण गराउँदै अध्यक्ष ओलीले यसको फैसला ढिलो हुनु न्याय नदिनु सरह हुने टिप्पणी गरे ।
‘एउटै मुद्दा वर्षौँसम्म बोकेर हिँड्न सकिँदैन,’ उनले भने, ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो । संसद् पुनर्स्थापना गरेर मात्रै वर्तमान राजनीतिक सङ्कटको समाधान सम्भव छ ।’












