विराटनगर । सुनसरीको कोशी गाउँपालिका-१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएपछि उत्पन्न तनाव अन्त्यका लागि प्रशासन र पीडित पक्षबीच पाँच बुँदे सहमति भएको छ ।

बुधबार राति भारतबाट सिटी सफारीमा सामान ल्याउँदै गरेका साहमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको थियो । घटनापछि स्थानीय आन्दोलित बनेका थिए र प्रहरीसँग झडपसमेत भएको थियो ।
बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा छानबिन समिति गठन, मृतक परिवारलाई क्षतिपूर्ति र रोजगारीको व्यवस्था गर्ने सहमति जुटेको हो । सहमतिपछि क्षेत्रको अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सहमतिका मुख्य बुँदा-
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन
दोष देखिए क्षतिपूर्ति र राहतका लागि गृह मन्त्रालयमा सिफारिस
मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्था मृतकका छोरालाई सशस्त्र प्रहरी भर्नामा सहजीकरण
शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरी अन्त्येष्टि












