काठमाडौँ । नयाँ वर्षको पूर्वसन्ध्यामा स्विट्जरल्यान्डको क्रान्स-मोन्टाना क्षेत्रमा रहेको एक बारमा भीषण आगलागी भएको छ । घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

अधिकारीहरूका अनुसार आगलागीमा परी धेरै जनाको ज्यान गएको आशङ्का गरिएको छ। यसका साथै घटनामा झन्डै एक सय जना घाइते भएका स्विस अधिकारीहरूले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । घाइतेहरूको अवस्था र उपचारबारे थप विवरण आउन बाँकी छ ।
आगलागीको कारण हालसम्म खुलेको छैन । यद्यपि प्रारम्भिक अनुसन्धानका क्रममा आगलागीअघि विस्फोट भएको हुन सक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता गेटान लाथिओनका अनुसार स्थानीय समयअनुसार बिहान करिब १ः३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा आगो लागेको हो ।
उक्त बारमा नयाँ वर्षको स्वागतका लागि एक सय जनाभन्दा बढी मानिस भेला भएका बेला आगलागी भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र अवस्था नियन्त्रणमा लिइएको अधिकारीहरूले जनाएका छन् ।












