काठमाडौं । सरकारले इपिएस प्रणाली अन्तर्गत दक्षिण कोरिया जान बनाइएको रोस्टरको सीमा बढाउन कूटनीतिक पहल गर्ने भएको छ ।

शुक्रवार श्रममन्त्री राजेन्द्रसिंह भण्डारी, श्रम सचिव, मन्त्रालयका कर्मचारी, र वैदेशिक रोजगार विभागका महानिर्देशक तथा इपिएस प्रणाली अन्तर्गत कोरिया जाने रोस्टरमा रहेका प्रतिनीधिहरुको उपस्थितिमा भएको छलफलमा सरकारले रोस्टरको सीमा अवधि बढाउन कूटनीतिक पहल गर्ने सहमति भएको हो ।
इपिएस प्रणाली अन्तर्गत दक्षिण कोरिया जाने प्रयोजनका लागि भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमामा रहेका तर विभिन्न कारणले हालसम्म सो अवसर नपाएकाहरूले सरकारको ध्यानाकर्षण गराउँदै गरिरहेको प्रदर्शनपछि भएको छलफलमा मन्त्री सिंहले यस्तो सहमति जनाएका हुन् ।
साथै छलफलबाट वैदेशिक रोजगारीका लागि इपिएस प्रणालीबाट कोरिया जान तयार गरिएको रोस्टरमा रहेका व्यक्तिहरूको व्यक्तिगत विवरण रोजगारदातासमक्ष पठाउने प्रक्रिया लगायतका विषयको पारदर्शिता र निष्पक्षता कायम गर्न आवश्यक सुझावसहित सिफारिस गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको छ ।












