काठमाडौं । राष्ट्रिय सभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सातै प्रदेशका राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको हो ।
निर्वाचन कार्यक्रमअनुसार भोलि उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। पुस २५ र २६ गते मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी योग्य उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् र सोही दिन अन्तिम नामावली सार्वजनिक हुनेछ । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।
राजनीतिक दलहरूबीचको तालमेलअनुसार निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनका रूपमा सहभागी भएका छन् । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । यस्तै, जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशबाट तीन सिटमा उम्मेदवारी दिएको छ भने एक सिटमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेको छ ।












