काठमाडौँ । नेकपा एमालेको समानुपातिक बन्दसूचीमा समावेश पाँच जनाले नाम फिर्ता गर्न पार्टीमा निवेदन दिएका छन् ।

पार्टी स्रोतका अनुसार तीमध्ये दुई जना राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेकाले समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएका हुन् । उनीहरूमा कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार सोम पोर्तेल र सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार लिला भण्डारी छन् ।
यसैगरी, एक जनाले आफू सरकारी सेवामा कार्यरत रहेको कारण देखाउँदै नाम फिर्ताका लागि निवेदन दिएको जनाइएको छ । बाँकी दुई जनाको सन्दर्भमा भने पार्टीले हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन ।
एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले पाँच जनाबाट नाम फिर्ताका लागि निवेदन प्राप्त भएको पुष्टि गरेका छन् । उनका अनुसार ती निवेदनहरू निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रक्रिया अघि बढाइनेछ ।
आचार्यले भने, “निर्वाचन आयोगको तालिका र नियमअनुसार नाम फिर्ता लिन चाहेको हकमा पार्टीले आवश्यक निर्णय गरेर आयोगमा जानकारी गराउनेछ ।”
निर्वाचन आयोगको कार्यतालिकाअनुसार पुस २७ गतेसम्म समानुपातिक सूचीमा समावेशी क्लस्टर लगायतका विवरण सच्याउन सकिनेछ । पुस २८ गते नाम फिर्ता गर्न चाहने उम्मेदवारले औपचारिक रूपमा निवेदन दिन सक्ने व्यवस्था छ ।












