काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदै छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि नाम दर्ताको समय बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।

महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट ८ बजेदेखि नाम दर्ता सुरु गरिने दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने छ । नाम दर्ताको शुल्क एक हजार तोकिएको छ ।
विशेष महाधिवेशन काठमाडौं जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ । आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् ।
संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ । उनीहरूले आजकै मितिमा जिल्ला सभापति र युवाको भेला बोलाएका छन् । महाधिवेशन सोमबारसम्म चल्नेछ । महाधिवेशनका लागि बाहिर जिल्लाका प्रतिनिधिहरू शनिवार नै काठमाडौं आइसकेका छन् । उद्घाटनअघि विभिन्न ठाउँबाट जुलुस पनि निकाल्ने सचिवालयले जनाएको छ ।












