काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्दसत्र उद्घाटन गर्न भृकुटीमण्डपमा उपस्थित हुन आग्रह गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले सभापति देउवालाई उमेर र राजनीतिक यात्राको सम्मान गर्दै अब अघि नबढ्न आग्रह गरे । उनले भोलि बिहान बन्दसत्रको उद्घाटनका लागि हलमा आएर नेतृत्वलाई सहज बाटो खोलिदिन देउवालाई अनुरोध गरे ।
‘शेरबहादुर दाइ, तपाईं इतिहास बोकेको हाम्रो नेता हुनुहुन्छ। गाउँबाट उठेर यहाँसम्म आइपुग्नुभएको हो । ८० वर्ष कटिसक्नुभयो, मेरो पिताजीको उमेरकै हुनुहुन्छ,’ शर्माले भने, ‘हिजो जसले तपाईंलाई सभापति बनायो, पटक–पटक सत्तामा पुर्यायो, ती कार्यकर्तालाई उपेक्षा गरेर रोइलो छाड्नुस् । भोलि बिहान हल उद्घाटन गर्ने बेलामा आउनुस्, हामी विकल्प दिन्छौं ।’
उनले विशेष महाधिवेशनको विपक्षमा रहेका केही केन्द्रीय सदस्यहरूलाई उपस्थित कार्यकर्ताले गिज्याएको टिप्पणी पनि गरे । ‘यो मासुम अनुहारले तपाईंहरूलाई गिज्याइरहेको छ कि छैनरु’ भन्दै शर्माले पार्टी झगडामा होइन, सिद्धान्त, विचार र मध्यमार्गी राजनीतिमा विश्वास गर्ने बताए ।
पार्टीभित्र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर उठाएको मागलाई समेत सामान्य छलफलमा ल्याउन नसक्नु बिडम्बनापूर्ण भएको उनको तर्क थियो ।
‘नेपाली जनताले दुई छाक खान, उपचार र शिक्षा पाउन हाम्रा अग्रजहरूले पञ्चायत र राणाविरुद्ध संघर्ष गरे,’ शर्माले भने, ‘तर आज हाम्रो पार्टीले न्यूनतम लोकतान्त्रिक मूल्यसमेत लत्याउँदै ५४ प्रतिशत हस्ताक्षरलाई सामान्य हलमा छलफल गराउने आँटसमेत गर्न सकेन । यो बिडम्बना होइन र ? ’












