Logo
Logo

विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन लागेको भन्न पाइँदैन: प्रदीप पौडेल


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नियमित महाधिवेशन समयमै सम्पन्न गर्न नेतृत्वले ध्यान नदिएकाले विशेष महाधिवेशन गर्नुपरेको बताएका छन् ।

The current image has no alternative text. The file name is: pradip-poudel.jpg

आइतबार काठमाडौंमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पौडेलले भने, “आज नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशन गर्दैछ। हामीले समयमै नियमित महाधिवेशन गर्न सकेनौं । विशेष महाधिवेशन दर्ता भएको तीन महिनाभित्र नियमित गर्न सकिँदा यसलाई रद्द गर्न सकिन्थ्यो, तर नेतृत्वले ध्यान दिएन । विशेष महाधिवेशन आफैं निष्क्रिय हुन्छ भन्ने दम्भ पालेर बसेको कारण आज हामीले यो महाधिवेशन गर्नुपरेको हो ।”

साथै, उनले विशेष महाधिवेशनको माग गर्ने प्रतिनिधिहरूलाई अपमान गरी “कांग्रेस फुटाउन लाग्यो” भन्ने आरोप लगाउन नमिल्ने पनि स्पष्ट पारे। “महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दा उहाँहरूलाई अपमान गरेर कांग्रेस फुटाउन लाग्यो भन्न पाइँदैन। गणितका आधारमा विश्वास प्राप्त नभएमा मात्र नैतिकताको ख्याल गर्नुपर्छ,” उनले भने ।

पौडेलले यसलाई विधानले व्यवस्था गरेको प्रक्रिया भएको र केन्द्रीय समिति वा कार्यसम्पादन समितिले विधानलाई निर्देशित गर्न नसक्ने बताए । “विधानले निर्देशित गरे अनुसार विशेष महाधिवेशन हुँदैछ । नेपाली कांग्रेस केवल राजनीतिक पार्टी मात्र होइन, यो देशका सबै बेथितिविरुद्धको अभियान हो,” उनले थपे ।

उनका अनुसार, नेपाली कांग्रेस दलित, मधेशी, जनजाती र सिमान्तकृत समुदायमा रहेका विभेदविरुद्धको अभियानको पनि प्रतिनिधि पार्टी हो ।

प्रतिक्रिया दिनुहोस्