
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन पक्षलाई एकताका लागि आह्वान गर्ने निर्णय गरेको छ ।
भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवाले आफुपक्षीय नेताहरुसँग छलफल गर्दै एकताका लागि आह्वान गर्न पूर्णबहादुर खड्कालाई निर्देशन दिएका हुन् ।
संस्थापन पक्षका नेताहरूको छलफलमा पार्टी फुट्ने देखिएको भन्दै एकताका लागि कार्यवाहक सभापतिले आह्वान गर्ने निर्णय भएको सहमहामन्त्री किशोरसिंह राठौरले बताए ।
देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई विशेष महाधिवेशन समूहसँग छलफल गर्न पनि भनेका छन् । गगन–विश्वले आह्वान गरेको विशेष महाधिवेशनमा देउवा नेतृत्वको कार्यसमिति नै भङ्ग गर्ने र नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव पारित भइसकेको छ ।
भृकुटीमण्डपमा बहुमत प्रतिनिधि सहिभागी भएपछि गगन–विश्वले नयाँ नेतृत्व चयन गर्ने सम्मको बाटो तय गरेका छन् ।












