चौतारा । चीनको न्यालम-खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल-चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।

चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको हो । आइतबार राति न्यालम र खासाको मध्यभागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिए । आगो फैलँदै गएपछि स्थानीय तथा पर्यटक आवतजावतसँगै मालबाहक सवारीसाधनको आवागमनसमेत बन्द गरिएको उनले बताए ।
प्रहरी निरीक्षक राईका अनुसार गत वर्षको बाढीले रसुवा नाका बन्द भएपछि चीनसँगको अधिकांश व्यापार तातोपानी नाकामार्फत हुँदै आएको छ । आजदेखि नाका बन्द भएपछि सामान बोकेका कन्टेनर रोकिएर समस्या भएको नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताए ।












