
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कानुनी परामर्श थालेका छन् । सभापति शेरबहादुर देउवासँग राजनीतिक सहमति नजुटेपछि उनीहरु कानुनविद् तथा आफू निकटका नेतासँग निरन्तर छलफलमा जुटेका हुन् ।
केन्द्रीय सदस्य प्रकाश स्नेहीले पार्टी एकतामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सोहीअनुसार विवाद मिल्ने सम्भावना अझै बाँकी रहेको बताएका छन् ।
हाल भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइएको छ । तर, पदाधिकारी तहमा कसैले उम्मेदवारी दर्ता गराएका छैनन् । टिकटमा सभापतिबाहेक अरुको हस्ताक्षर हुनुपर्ने बटमलाइन बनाएका गगन र विश्वलाई घरमै बोलाएर आज बिहान देउवाले छलफल गरेका थिए ।
सो क्रममा उनले विद्यमान कानुनले मिल्ने भए प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारलाई टिकट दिँदा अर्कै नेतालाई हस्ताक्षर गर्ने अधिकार दिन आफू तयार रहेको बताएका थिए । देउवाले कानुनी प्रावधानको अध्ययन गरेर निर्णय लिन सकिने बताएपछि महामन्त्रीद्वय कानुनी परामर्शमा जुटेका हुन् ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा देउवाको हस्ताक्षरमा उम्मेदवारी दर्ता भएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा पनि देउवाले नै हस्ताक्षर गरेका छन् । अब प्रत्यक्षतर्फ भने अर्कैलाई हस्ताक्षर गर्ने अधिकार दिन कानुनले मिल्छ कि मिल्दैन भन्नेबारे महामन्त्री कानुनका जानकारसँग छलफल गरिरहेका छन् ।












